Publicidade

Provérbios 21

1 राजाको हृदय याहवेहको हातमा हुन्छ;

उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्‍याएजस्तै, त्यसलाई डोर्‍याउनुहुन्छ।

2 मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला,

तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ।

3 ठिक र न्यायोचित काम गर्नुचाहिँ

याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ।

4 अहङ्कारी आँखा र अभिमानी हृदय

तथा दुष्‍टका नजोतिएका जमिनले पाप उब्जाउँछ।

5 परिश्रमीको योजनाले लाभ दिन्छ;

हतारले अवश्य नै गरिबीमा पुर्‍याउँछ।

6 झूटो जिब्रोद्वारा कमाएको धन

उडिजाने वाफ र घातक पासो हो।

7 दुष्‍टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ;

किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्।

8 दोषीको चाल बाङ्गो हुन्छ;

तर निर्दोषको चालचलन ठिक हुन्छ।

9 कचकचे पत्नीसित एउटै घरमा बस्‍नुभन्दा,

घरको कौसीको एउटा कुनामा बस्‍नु असल हो।

10 दुष्‍ट मानिसले दुष्‍टताको चाहना गर्छ;

त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन।

11 गिल्‍ला गर्नेले दण्ड पाउँदा सोझाले बुद्धि प्राप्‍त गर्छ;

बुद्धिमान्‌लाई अर्ती दिँदा त्यसले ज्ञान प्राप्‍त गर्छ।

12 धर्मी जनले दुष्‍टको घरलाई चिनिराख्छ;

तर परमेश्‍वरले दुष्‍टहरूलाई पतन गराउनुहुन्छ।

13 जसले गरिबको चीत्कार सुन्दैन,

त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन।

14 गुप्‍तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ;

लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ।

15 उचित न्यायले धर्मी जनको हृदयमा आनन्द ल्याउँछ;

तर कुकर्मीहरू भने त्रसित हुन्छन्।

16 समझशक्तिदेखि कुमार्गतिर लाग्ने मानिस

मृतकहरूको साथमा विश्राम गर्न पुग्छ।

17 सुख-विलास मन पराउने गरिब हुनेछ;

दाखमद्य र विलासिता मन पराउने कहिल्यै धनी हुनेछैन।

18 दुष्‍टहरू धर्मीहरूको उद्धारको मोल,

र विश्‍वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्।

19 झगडालु र गनगने पत्नीसित बस्‍नुभन्दा त

बरु मरुभूमिमा बस्‍नु असल हुन्छ।

20 बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ;

तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ।

21 धार्मिकता र प्रेमको पछि लाग्नेले

जीवन, उन्‍नति र सम्मान पाउँछ।

22 बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ,

र तिनीहरूले भरोसा गरेको किल्‍ला भत्काइदिन्छ।

23 आफ्नो मुख र जिब्रो सम्हाल्नेले

आफूलाई विपत्तिबाट जोगाउँछ।

24 अहङ्कारी र अभिमानी मानिसको नाम, "गिल्‍ला गर्ने" हो,

त्यसले अभिमानसाथ व्यवहार गर्दछ।

25 अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ;

किनकि त्यसका हातहरूले काम गर्न इन्कार गर्छन्।

26 दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ,

तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ।

27 दुष्‍टको बलिदान घिनलाग्दो हुन्छ;

त्यसले दुष्‍ट विचारले ल्याएको छ भने झन् कति बढी घृणित हुनेछ!

28 झूटो गवाही दिने नष्‍ट हुनेछ;

तर साँचो साक्षीलाई सधैँ सुनिनेछ।

29 दुष्‍ट मानिसले आफ्नो अनुहारमा साहसीपना देखाउँछ;

तर धर्मी जीवन जिउनेहरूले आफ्ना चालहरूमा विचार पुर्‍याउँछन्।

30 कुनै पनि बुद्धि, अन्तर्दृष्‍टि र योजना,

याहवेहको विरुद्ध सफल हुन सक्दैन।

31 घोडा युद्धको निम्ति तयार राखिन्छ;

तर विजयचाहिँ याहवेहकै हातमा हुन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-