Publicidade

Provérbios 23

भनाइ 7

1 जब तिमी शासकसँग खान बस्छौ,

तिम्रो अगि के छ, त्यो राम्ररी याद गर।

2 यदि तिम्रो धेरै खाने बानी छ भने,

आफ्नो घाँटीमा छुरी राख।

3 तिनका स्वादिष्‍ठ भोजनहरूको लालसा नगर;

किनकि त्यो भोजन छलपूर्ण हुन्छ।

भनाइ 8

4 धनी बन्‍न आफूलाई धेरै नघोट;

उचित समयमा आफूलाई रोक्न बुद्धिमान् होऊ।

5 धनसम्पत्ति एकै छिनमा उडिजान्छन्;

किनकि यसका पखेटाहरू पलाउँछन्,

आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ।

भनाइ 9

6 लोभी मानिसको भोजन नखाऊ,

त्यसका स्वादिष्‍ठ भोजनको चाहना नगर;

7 किनभने त्यो त्यस्तो किसिमको मानिस हो,

जसले त्यसको दाम उठाउने बारेमा सधैँ सोचिरहेको हुन्छ;

त्यसले तिमीलाई "खानुहोस्, पिउनुहोस्" भनी भन्छ,

तर त्यसले मनबाट भनेको चाहिँ हुँदैन।

8 तिमीले अलिकति खाएको पनि उकेलिदिनेछौ,

र त्यसलाई तिमीले भनेका मधुर वचन त्यसै व्यर्थ जानेछ।

भनाइ 10

9 मूर्खसित नबोल;

किनकि त्यसले तिम्रा वचनहरूका ज्ञानलाई तिरस्कार गर्नेछ।

भनाइ 11

10 प्राचीन साँधसिमानाको ढुङ्गा नहटाऊ,

अथवा टुहुरा-टुहुरीका खेतबारी नमिच,

11 किनकि तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ;

उहाँले तिम्रो विरुद्धमा तिनीहरूका मामिला लिनुहुनेछ।

भनाइ 12

12 तिम्रो हृदय अर्तीमा

र तिम्रा कानहरू ज्ञानका वचनहरूमा लगाऊ।

भनाइ 13

13 बालकलाई अनुशासनमा राख्न नरोक;

तिमीले तिनीहरूलाई छडी लगायौ भने तिनीहरू मर्नेछैनन्।

14 छडी लगाएर त्यसलाई सजाय देऊ,

र त्यसको प्राणलाई मृत्युबाट रक्षा गर।

भनाइ 14

15 हे मेरा छोराछोरी, यदि तिम्रो हृदय बुद्धिमान् छ भने,

मेरो हृदय पनि प्रसन्‍न हुनेछ,

16 तिम्रा ओठले ठिक कुरा बोल्दछ भने,

मेरो अन्तस्करण त्यसै समय रमाउनेछ।

भनाइ 15

17 तिम्रो हृदयले पापीहरूलाई डाह गर्न नदेऊ;

तर याहवेहप्रतिको श्रद्धामा सधैँ जोशिलो होऊ।

18 निश्‍चय नै तिम्रा निम्ति भविष्यको आशा छ,

र तिम्रो आशा खोसिनेछैन।

भनाइ 16

19 हे मेरा छोराछोरी, सुन, र बुद्धिमान् होऊ;

अनि तिम्रो हृदय सत्य मार्गमा लगाऊ।

20 धेरै दाखमद्य पिउनेहरू,

अथवा मुखमा मासु हसुर्नेहरूसित सङ्गत नगर;

21 किनकि मतवाला र घिचुवाहरू गरिब हुनेछन्;

र नशाले तिनीहरूलाई थाङ्ने बनाउँछ।

भनाइ 17

22 तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन,

र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर।

23 सत्य किन, र त्यसलाई नबेच;

बुद्धि, अनुशासन र समझदारी प्राप्‍त गर।

24 धर्मी मानिसको बुबासित आनन्दित हुने कारण हुन्छ;

बुद्धिमान् सन्तान जन्माउनु आनन्दको कुरा हो!

25 तिम्रा बुबा र आमा प्रसन्‍न होऊन्,

तिमीलाई जन्म दिने आमाले रमाहट गरून्।

भनाइ 18

26 हे मेरो छोरो, तिम्रो हृदय मलाई देऊ,

र तिम्रा आँखाले मेरा चालहरू हेर्न रमाऊन;

27 किनकि व्यभिचारिणी स्त्रीचाहिँ एउटा गहिरो खाडल हो,

र भ्रष्‍ट पत्नी साँघुरो कुवा हो।

28 त्यो एउटा डाँकुजस्तै ढुकिरहन्‍छे,

र मानिसहरूका बीचमा विश्‍वासघाती पुरुषहरूको संख्या बढाउँछे।

भनाइ 19

29 कष्‍ट कसलाई हुन्छ? दुःख कसलाई हुन्छ?

को झगडा गरिरहन्छ? को गुनासो गरिरहन्छ?

कसलाई अनावश्यक चोटपटक लाग्छ? कसका आँखाहरू राता-राता हुन्छन्?

30 तिनीहरू नै, जो मद्यमै भुलिरहन्छन्;

जो मिश्रित मद्यको कचौरा चाख्न जान्छन्।

31 दाखमद्य रातो हुँदा,

जब यो कचौरामा हाल्दा फीँज उठ्छ,

जब यो बिस्तारै लिइन्छ त्यसतिर एक टक लगाएर नहेर।

32 अन्त्यमा यसले सर्पले जस्तै डस्छ,

र विषालु सर्पले जस्तै विषयुक्त पार्छ।

33 तिम्रा आँखाले अनौठा दृश्यहरू देख्नेछन्,

र तिम्रा मनले नचाहिँदा कुराहरूको कल्पना गर्नेछ।

34 महासमुद्रमा सुतिरहेझैँ तिमीलाई हुनेछ;

मस्तुलका डोरीको माथितिर झुण्डिरहेझैँ तिमी हुनेछौ।

35 तिमीले भन्‍नेछौ, "तिनीहरूले मलाई हिर्काए", तर मलाई चोट लागेन!

तिनीहरूले मलाई पिट्छन्, तर मैले थाहै पाउँदिनँ!

"म कहिले बिउँझूँ,

अनि म फेरि अर्को मद्य पिऊँ?"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-