Publicidade

Provérbios 17

1 शान्ति र मौनसित निस्तो गाँस खानु

कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो।

2 विवेकी सेवकले अयोग्य छोरामाथि शासन गर्छ,

र त्यसले एउटा पुत्रको रूपमा परिवारमा पैतृक सम्पत्ति पाउनेछ।

3 चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ,

तर हृदयलाई जाँच्नुहुने याहवेह हुनुहुन्छ।

4 दुष्‍ट मानिसले दुष्‍ट कुरा सुन्छ;

झूटो बोल्नेले विनाशकारी जिब्रोमाथि ध्यान दिन्छ।

5 गरिबलाई गिल्‍ला गर्नेले उसका सृष्‍टिकर्तालाई अपमान गर्छ;

अरूका विपत्तिमा रमाउने जो कोही पनि दण्डबाट उक्‍कनेछैन।

6 नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्,

र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्।

7 भक्तिहीन मूर्खको बोली असुहाउँदो हुन्छ भने,

शासनको निम्ति झूटो बोल्ने ओठ त झन् कति असुहाउँदो हुन्छ!

8 घूस दिनेको लागि त्यो टुनामुनाजस्तै हो;

उसले जे गरे तापनि ऊ सफल हुन्छ भन्‍ने उसलाई लाग्छ।

9 अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ;

तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ।

10 मूर्खलाई सय कोर्रा लगाउनुभन्दा त

बरु समझशक्ति भएको मानिसलाई एकै हप्कीले असर पार्छ।

11 खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्छ;

त्यसको विरुद्धमा एउटा निर्दयी अधिकृत पठाइनेछ।

12 मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा त

बरु बच्‍चा खोसिएको भालु भेट्नु असल हो।

13 यदि मानिसले भलाइको साटो खराबी गर्छ भने,

त्यसको घर खराबीले कहिल्यै छोड्नेछैन।

14 झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो;

यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ।

15 दोषीलाई छोडिदिने र निर्दोषलाई दण्ड दिने—

यी दुवैलाई याहवेहले घृणा गर्नुहुन्छ।

16 मूर्खको हातमा रकम के काम लाग्ला र?

किनकि त्यसमा बुद्धि प्राप्‍त गर्ने इच्छा नै हुँदैन।

17 मित्रले सबै समय प्रेम गर्छ,

र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्।

18 विवेकहीन मानिसले भाकल गर्छ,

र आफ्नो छिमेकीको जमानी बस्छ।

19 झगडा रुचाउनेले पाप रुचाउँछ,

र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ।

20 भ्रष्‍ट हृदय भएको मानिसको उन्‍नति हुँदैन;

जसको जिब्रो छली छ, त्यो सङ्कष्‍टमा पर्छ।

21 मूर्ख छोराछोरीले सन्ताप ल्याउँछन्,

मूर्खको बुबालाई खुशी मिल्दैन।

22 प्रसन्‍न हृदय असल औषधी हो,

तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।

23 दुष्‍ट मानिसले गुप्‍तमा घूस लिन्छ

र न्याय प्राणाली बिगारिदिन्छ।

24 विवेकी मानिसले आफ्नो दृष्‍टिमा बुद्धि राख्छ,

तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ।

25 मूर्ख छोराछोरीले आफ्नो बुबालाई सन्ताप दिन्छन्,

र त्यसलाई जन्माउनेमाथि तितोपन ल्याउँछन्।

26 निर्दोष मानिसलाई दण्ड दिनु,

वा आफ्नो इमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठिक होइन।

27 समझदार मानिसले आफ्नो वचन होसियारीसाथ बोल्छ,

र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ।

28 चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ,

र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-