Publicidade

Provérbios 31

1 राजा लमूएलका नीतिवचन, जुन तिनका आमाले तिनलाई सिकाएकी थिइन्—एक ईश्‍वरवाणी।

2 हे मेरा छोरा, सुन्! हे मेरा गर्भका छोरा, सुन्!

हे मेरो छोरा, प्रार्थनाहरूका जवाफ सुन्!

3 तेरो आफ्नो सम्पूर्ण बल स्त्रीहरूलाई दिएर नसक्;

तेरो शक्ति तिनीहरूलाई नदे, जसले राजाहरूलाई पतन गराउँछन्।

4 यो कुरा राजाहरूका निम्ति होइन, हे लमूएल—

राजाहरूले मद्यपान गर्नुहुन्‍न,

शासकहरूले मदिराको लालसा गर्नुहुन्‍न,

5 कतै तिनीहरूले पिएर कानुनलाई बेवास्ता गर्लान्,

र थिचोमिचोमा परेकाहरूलाई तिनीहरूका अधिकारबाट वञ्चित गर्लान्।

6 तिनीहरूलाई मदिरा दे, जो नष्‍ट भइरहेका छन्; तिनीहरूलाई मद्यपान दे,

जो वेदनामा परेका छन्।

7 तिनीहरूले पिऊन् र आफ्नो गरिबी बिर्सून्,

अनि आफ्ना वेदना कहिल्यै नसम्झून्।

8 आफ्ना निम्ति बोल्न नसक्नेहरूका निम्ति,

र दुःख पाएकाहरूका अधिकारको निम्ति बोलिदे।

9 आवाज उठा, र ठिकसित न्याय गर्,

गरिब र खाँचोमा परेकाहरूको अधिकारको रक्षा गर्!

10 पदहरू एकरोस्टिक कविता हुन्, जसका पदहरू हिब्रू वर्णमालाका क्रमिक अक्षरहरूबाट सुरु हुन्छ। असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ?

तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।

11 तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्;

र तिनलाई कुनै मूल्यवान् कुराको अभाव हुँदैन।

12 तिनले आफ्नो जीवनकालभरि नै खराब कुरा होइन,

तर असल कुरा दिन्छिन्।

13 तिनले ऊन र सनपाट चुन्छिन्,

र इच्छुक हातले काम गर्छिन्।

14 व्यापारीका जहाजहरूले जस्तै;

तिनले टाढाबाट भोजन ल्याउँछिन्।

15 मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्,

आफ्नो परिवारको निम्ति भोजन जुटाउँछिन्,

र आफ्नी सेविकाहरूलाई आ-आफ्नो भाग बाँडिदिन्छिन्।

16 तिनले विचार गरेर एउटा जमिन किन्छिन्,

र आफ्नो कमाईबाट एउटा दाखबारी लगाउँछिन्।

17 तिनले आफ्नो काम जोसका साथ गर्छिन्;

आफ्नो कामको निम्ति तिनले आफ्ना पाखुराहरू बलियो पार्छिन्।

18 तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्;

र राति तिनको बत्ती निभ्दैन।

19 तिनले आफ्नो हातले चर्खा चलाउँछिन्,

र आफ्नो औँलाले पिउरी समाउँछिन्।

20 तिनले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छिन्;

र खाँचोमा परेकाहरूको निम्ति सहायताको हात बढाउँछिन्।

21 हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्;

किनकि तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्।

22 तिनी आफैँले ओछ्यान ढाक्ने तन्‍ना बनाउँछिन्;

तिनले असल सुती र बैजनी वस्त्र लगाएकी हुन्छिन्।

23 उनका पतिलाई सहरको मूलढोकामा आदर गरिन्छ,

जहाँ उनी देशका अगुवाहरूका बीचमा बस्छन्।

24 तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्;

र व्यापारीलाई पटुकाहरू उपलब्ध गराउँछिन्।

25 तिनी सामर्थ्य र सम्मानले सुशोभित हुन्छिन्;

भविष्यको निम्ति तिनी मुस्कुराउन सक्छिन्।

26 तिनी बुद्धिसित बोल्छिन्;

अनि तिनको जिब्रोमा विश्‍वासयोग्य अर्ती पाइन्छ।

27 तिनले आफ्नो घरानाको कामधन्धाको हेरविचार गर्छिन्,

र आलस्यपनको रोटी खाँदिनन्।

28 तिनका छोराछोरीले उठेर तिनलाई धन्यकी भन्छन्,

तिनका पतिले पनि यस्तो भन्दै तिनको प्रशंसा गर्छन्:

29 "धेरै स्त्रीहरूले असल काम गर्छन्;

तर तिनीहरू सबैलाई तिमीले जितेकी छौ।"

30 सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ;

तर याहवेहको डर मान्‍ने स्त्रीको नै प्रशंसा हुनुपर्छ।

31 तिनले कमाएको इनाम तिनलाई नै देऊ;

र तिनका कामले सहरको ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_10-32-54-