Publicidade

Provérbios 13

1 बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ;

तर गिल्‍ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ।

2 आफ्ना ओठका फलबाट नै मानिसले असल थोकहरू उपभोग गर्दछ;

तर विश्‍वासघातीहरू हिंसाकै चाहना गर्छन्।

3 आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ,

तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्‍ट हुन्छ।

4 अल्छेले उत्कट इच्छा गर्छ, र त्यसलाई केही पनि मिल्दैन;

तर परिश्रमीका इच्छाहरू पूर्ण रूपमा पूरा हुन्छन्।

5 धर्मीले झूटलाई घृणा गर्छ;

तर दुष्‍टले दुर्गन्ध फैलाउँछ,

र आफैँमा बदनाम ल्याउँछ।

6 धार्मिकताले निर्दोष मानिसलाई रक्षा गर्छ;

तर दुष्‍टताले पापीलाई नष्‍ट पार्छ।

7 कोही मानिस धनी भएको धाक लगाउँछ, र पनि त्यससित केही हुँदैन;

अर्कोले गरिब भएको बहाना गर्छ, र पनि त्यससित अपार सम्पत्ति हुन्छ।

8 कुनै मानिसको धनले त्यसको जीवनलाई छुटाउन सक्ला,

तर गरिब मानिसले जीवनको धम्कीको डर मान्‍नुपर्दैन।

9 धर्मी जनको ज्योति उज्यालो भई चम्कन्छ,

तर दुष्‍टको बत्ती निभाइन्छ।

10 अहङ्कारले झगडा मात्र उब्जाउँछ;

तर सरसल्‍लाह लिनेहरूले बुद्धि पाइन्छ।

11 बेइमानीसित कमाएको पैसा सकिन्छ;

तर परिश्रम गरी कमाएको पैसा बढ्दैजान्छ।

12 ढिलो भएको आशाले हृदय दुर्बल पार्छ,

तर पूरा भएको चाहना जीवनको रूख हो।

13 अर्तीलाई अपमान गर्नेले त्यसको मूल्य चुकाउनेछ;

तर आज्ञालाई आदर गर्नेले प्रतिफल पाउनेछ।

14 बुद्धिमान्‌को शिक्षा जीवनको मूल हो,

जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।

15 असल न्यायले निगाह प्राप्‍त गर्छ;

तर विश्‍वासघातीको मार्गले तिनीहरूलाई विनाशमा डोर्‍याउँछ।

16 हरेक विवेकशील मानिसले आफ्नो ज्ञानद्वारा काम गर्छ;

तर मूर्खले आफ्नो मूर्खता प्रकट गर्छ।

17 दुष्‍ट सन्देशवाहक जोखिममा पर्छ;

तर विश्‍वासयोग्य दूतले चङ्गाइ ल्याउँछ।

18 अनुशासनको बेवास्ता गर्नेमाथि गरिबी र शर्म आइपर्नेछन्;

तर सुधारमा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ।

19 पूर्ण भएको चाहना प्राणको निम्ति मिठो हुन्छ;

तर मूर्खचाहिँ दुष्‍टताबाट फर्कन घृणा गर्छ।

20 बुद्धिमान्‌हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ;

तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ।

21 पापीलाई विपत्तिले पछ्याउँछ;

तर धर्मीको प्रतिफलचाहिँ समृद्धि हो।

22 असल मानिसले आफ्ना नातिनातिनाहरूका निम्ति पैतृक धन छोडिराख्छ;

तर पापीको धन भने धर्मीको निम्ति नै साँचिएको हुन्छ।

23 गरिबको नजोतिएको जमिनले प्रशस्त अन्‍न फलाउन सक्ला;

तर अन्यायले त्यो खोसिदिन्छ।

24 आफ्ना छोराछोरीलाई छडी नलाउनेले तिनीहरूलाई घृणा गर्छ,

तर तिनीहरूलाई प्रेम गर्नेले त तिनीहरूलाई अनुशासनमा राख्दछ।

25 धर्मीले पेटभरि खान्छ;

तर दुष्‍टको पेट भोकभोकै हुन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-