3 तिनीहरू भन्छन्, ‘हामीहरूले उपवास बस्यौँ,
तपाईंले किन त्यो देख्नुहुन्न?
हामीले आफूलाई नम्र तुल्यायौँ,
तपाईंले किन ध्यान दिनुहुन्न?’
"तर तिमीहरू उपवास बस्दा आफूखुशी गर्छौ,
र तिमीहरूका सबै कामदारहरूलाई शोषण गर्छौ।
4 तिमीहरूका उपवास वाद-विवाद,
झगडा र हात हालाहालमा टुङ्गिन्छ।
यस प्रकारको उपवास बस्दा
तिमीहरूको प्रार्थना ग्रहणयोग्य हुँदैन।
5 के मानिसले एक दिन मात्र आफूलाई विनम्र तुल्याउने
किसिमको उपवास मैले चाहेको हो र?
के यो आफ्नो शिर निगालोझैँ निहुराएर
भाङ्ग्रा र खरानीमा बस्ने मात्र हो?
के यसैलाई तिमीहरू उपवास भन्छौ,
के यस्तो उपवास याहवेहले ग्रहण गर्नुहुन्छ?
6 "मैले चाहेको उपवास:
अन्यायका बन्धन, र जुवाको डोरी फुकाल्नु,
शोषणमा परेकाहरूलाई स्वतन्त्र गरिदिनु
र प्रत्येक जुवा भाँचिदिनु होइन र?