इस्राएलका एक मात्र मुक्तिदाता
1 तर अब, हे याकोब, तँलाई रच्नुहुने,
हे इस्राएल, तँलाई सृष्टि गर्नुहुने,
याहवेह यसो भन्नुहुन्छः
"नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु;
मैले तँलाई नाम काढेर बोलाएको छु; तँ मेरै होस्।
2 तँ पानीबाट भएर जाँदा
म तँसित हुनेछु;
अनि तँ नदीहरूबाट भएर जाँदा
तिनले तँलाई बगाउनेछैनन्।
तँ आगोबाट हिँडेर जाँदा
तँ जल्नेछैनस्;
त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।
3 किनकि म याहवेह नै तेरा परमेश्वर हुँ;
इस्राएलका पवित्र परमेश्वर, तेरा उद्धारकर्ता हुनुहुन्छ।
तेरो छुटकाराको मोलको निम्ति मैले इजिप्ट दिएको छु;
तेरो सट्टामा कूश र सेबा दिएँ।