याहवेहको निगाहको वर्ष
1 प्रभु याहवेहको आत्मा ममाथि छ;
किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति
याहवेहले मलाई अभिषेक गर्नुभएको छ।
उहाँले मलाई टुटेका हृदयहरूलाई जोड्न,
कैदमा परेकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न,
र बन्धनमा परेकाहरूलाई61:1 केही प्राचीन पा.लि.हरूमा अन्धाहरूलाई अन्धकारबाट मुक्त गर्न,
2 याहवेहको निगाहको वर्ष
र हाम्रा परमेश्वरको बदलाको घोषणा गर्न,
शोक गर्नेहरूलाई सान्त्वना दिन,
3 र सियोन पर्वतमा शोकाकुल हुनेहरूलाई प्रबन्ध गरिदिन,
तिनीहरूलाई खरानीको सट्टा
सुन्दरताको मुकुट प्रदान गर्न,
विलापको सट्टा
आनन्दको तेल दिन,
निराशाको आत्माको सट्टा
प्रशंसाको पोशाक पहिराइदिन पठाउनुभएको छ।
उहाँको गौरव प्रदर्शन गर्न
तिनीहरूलाई याहवेहले रोप्नुभएको
धार्मिकताका फलाँटहरू भनिनेछन्।