आसापको मस्किल।
1 हे मेरा मानिसहरू हो, मेरा शिक्षातिर ध्यान दिएर सुन;
मेरा मुखका वचनहरूतिर ध्यान लगाओ।
2 म मेरो मुख दृष्टान्तमा बोल्नलाई खोल्नेछु;
म प्राचीनका कुराहरूबाट गुप्त कुराहरू भन्नेछु—
3 हामीले ती कुराहरू सुनेका र जानेका छौँ,
जुन कुरा हाम्रा पितापुर्खाहरूले हामीलाई बताएका छन्।
4 हामी ती कुराहरूलाई तिनीहरूका छोराछोरीहरूबाट लुकाउनेछैनौँ;
हामी आउने पुस्तालाई याहवेहका प्रशंसायोग्य कामहरू,
उहाँको शक्ति र उहाँले गर्नुभएका
अद्भुत कार्यहरूको बारेमा वर्णन गर्नेछौँ।