8 याहवेह कृपालु र अनुग्रही हुनुहुन्छ,
रिसाउनमा ढिलो र प्रेमले भरिपूर्ण।
9 उहाँले सधैँ दोष लगाइरहनुहुन्न,
न त आफ्नो क्रोध सदासर्वदा लिइरहनुहुन्छ;
10 उहाँले हामीसित हाम्रा पापअनुसारको व्यवहार गर्नुहुन्न,
न त हाम्रा अधर्मअनुसार हामीलाई बदला लिनुहुन्छ।
11 किनकि पृथ्वीबाट स्वर्ग जति उच्च छ,
उहाँका डर मान्नेहरूमाथि उहाँको अचुक प्रेम त्यत्ति नै महान् छ।
12 पश्चिमबाट पूर्व जति टाढा छ,
उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा हटाइदिनुभएको छ।