1 धन्य हो त्यो मानिस,
जसका अपराधहरू क्षमा भएका छन्;
जसका पापहरू ढाकिएका छन्।
2 त्यो मानिस धन्यको हो,
जसको पापको लेखा याहवेहले राख्नुहुन्न,
जसको मनमा कुनै छलकपट छैन।
3 जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ,
तब मेरो दिनभरिको विलौनाले गर्दा
मेरा हाडहरू मक्किए।
4 किनकि दिनरात
तपाईंको बाहुलीको भार ममाथि रह्यो;
मेरो शरीरको शक्ति
गर्मीको तापलेझैँ सुकिगएको छ। सेला
5 तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ,
र मेरो अधर्म लुकाइ राखिनँ।
मैले भनेँ, "म याहवेहको सामु
मेरो अपराधहरू स्वीकार गर्नेछु।"
र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला
6 यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ,
सबै भक्तजनहरूले तपाईंमा प्रार्थना गरून्;
निश्चय नै उर्लेको डरलाग्दो भेलले
तिनीहरूलाई छुनेछैन।