1 याहवेहको निम्ति एउटा नयाँ गीत गाओ;
सारा पृथ्वीले याहवेहको निम्ति गाओ!
2 याहवेहको निम्ति गाओ, उहाँका नामको प्रशंसा गर;
प्रत्येक दिन उहाँले दिनुभएको मुक्तिको घोषणा गर!
3 जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर,
सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!
4 किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्च प्रशंसाको योग्य हुनुहुन्छ;
सारा देवहरूभन्दा उहाँको भय मान्नुपर्छ।
5 किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्,
तर याहवेहले त स्वर्गहरू सृष्टि गर्नुभयो।
6 उहाँको सामु गौरव र वैभव छन्;
उहाँका पवित्रस्थानमा शक्ति र महिमा छन्।
7 हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान,
याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ!
8 याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ;
भेटी लिएर उहाँका मन्दिरका चोकहरूमा आओ!
9 उहाँका पवित्रताको वैभवमा याहवेहलाई आराधना गर;
हे सारा पृथ्वी, उहाँको सामु थरथर काम।